काठमाडौँ – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि रविसँग बयान लिइँदै छ। उनलाई शुक्रबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पेश गरिनेछ। मंसिर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो।
त्यसलगत्तै मंगलबार बिहान रविलाई काठमाडौँ ल्याउने तयारी गरे पनि काठमाडौँ प्रहरीले ‘होल्ड’ गरेपछि रोकिएको थियो। यसअघि कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्वसञ्चालकसमेत पूर्वडीआइजी छविलाल जोशी र पुर्पक्षका लागि कास्की कारागारमा रहेका गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेललाई काठमाडौँ ल्याएर बयान लिइएको थियो।