सप्तरीमा स्वास्थ्य उपचारको व्यवस्था राम्रो भएन भनी पटक -पटक आवाज उठ्ने गरेको छ। सरकारी अस्पतालमा जिल्लाकै सबैभन्दा ठूलो राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल हो। गरिबकालागि पनि सस्तो दरमा सुलभ र अस्तरीय उपचार हुन सकोस् भन्ने यस अस्पताल माथि जनताले ठूलो भरोसा गर्दै आएका छन् ।
तर विभिन्न आन्तरिक तथा बाहिरिय समस्याले ग्रसित हुँदै गएपछि सर्वसाधारणको सहज उपचार गर्ने भन्दा पनि रेफलर सेन्टर का रूपमा अस्पताल चिनिन थालियो भन्दै जनगुनासो उठ्ने गरेको छ निर्वाचनका समयमा यही अस्पतालको अवस्थामा सुधार गर्ने भनी प्रतिबद्धता जनाउनेमा यहाँका करिब -करिब सबै जस्तो उम्मेदवार पर्ने गरेका छन्।
चुनाव जितेर गए पनि गरेको प्रतिबद्धता सम्झन छोडेपछि अस्पताल सुध्रियोस् पनि कसरी ? यसैगरी जुन पार्टीको नेता स्वास्थ्यमन्त्री बहाल हुन्छन् सोही पार्टीका जिल्ला नेताले अस्पतालमा आफू अनुकूलको मेडिकल सुपरिडेन्ट ( मे. सु.) ल्याउने कसरत सुरु गर्ने परिपाटीले गर्दा पनि अस्पतालमा समस्या बढ्दो छ। बिरामीको उपचारकालागि खोलिएको सरकारी अस्पतालमा राजनीति होइन जनताको सेवामुखी भावनाका साथ काम गर्ने परिपाटी बसाल्न जरुरी छ।