Logout

वद्युतीय सवारीको वृद्धि बावजूद पेट्रोलको खपत बढ्यो, डिजेल आयात घट्यो

559 Shares

विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै जाँदा इन्धन खपत घट्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ ।

डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ ।

अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो । तथ्यांक अनुसार यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ विदेशिएको छ । गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ विदेशिएको थियो । अघिल्लो वर्ष पेट्रोलको आयात घटे पनि डिजेल आयात भने घटेको थिएन । तर, यस वर्ष भने सार्वजनिक सवारीमा समेत विद्युतीय सवारीसाधनको आयात बढ्दै जाँदा डिजेल आयात खुम्चिन थालेको देखिन्छ ।

पट्रोलको खपत समेत गत आवको पहिलो चार महिनाको तुलनामा यस वर्ष बढेको छ । भन्सार विभागका अनुसार यस वर्ष कात्तिकसम्म २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको पहिलो चार महिनामा २ लाख २३ हजार ८१० किलोटिर पेट्रोल आयात भएको थियो । यस वर्ष पेट्रोल आयातमा २१ अर्ब ५६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष २२ अर्ब ८७ करोड रुपैयाँ मात्र विदेशिएको तथ्यांकले देखाएको छ ।

पेट्रोल आयातबाट सरकारले यस वर्ष चार महिनामा १४ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाएको छ । यस वर्ष पेट्रोल आयातको परिमाण बढे पनि विदेशिने मुद्रा भने घटेको छ । यसो हुनुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घट्नु मूख्य कारण हो ।

खाना पकाउने ग्यासको आयात समेत बढिरहेको छ । यस आवको पहिलो चार महिनामा १७ करोड २४ लाख ८२ हजार ८३० किलो एलपीजी ग्यास आयात भएको छ । अघिल्लो आवको चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७५६ किलो ग्यास आयात भएको थियो । यस वर्ष एलपीजी आयातमा १८ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । जसबाट ३ अर्ब ५१ करोड राजस्व उठेको छ । अघिल्लो वर्ष कात्तिकसम्म १५ अर्ब ४५ करोड रुपैयाँ विदेशिएको थियो । यस वर्ष सरकारले २ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको थियो ।   

 

फेसबुकबाट तपाईको प्रतिक्रि
सम्बन्धित समाचार